reader

Loading...

Written By gajjab on Tuesday 28 April 2015 | 22:44

प्रकृतिको अगाडि मानिस कति लाचार र कमजोर हुन्छ, त्यसको प्रमाण हालै नेपालमा आएको महाभूकम्पले दिएको छ। हामी जति संरक्षण गर्न खोज्छौं, प्रकृतिको अगाडि सबैं तयारी निष्क्रिय हुन्छ। यस्तै महाभूकम्पको १० घटनाहरूले मनुष्यको इतिहासको दशा र दिशा बदलिदिएको छ।
१. २२ मई १९६०, वाल्डिविया, चिली, भूकम्पको तीव्रता: ९.५
मनुष्यको इतिहासमा हालसम्मकै सबैभन्दा भयानक भूकम्प यसैलाई भनिन्छ। ९.५ को तीव्रताको भूकम्प कति विनाशकारी हुन सक्छ। त्यस दिन १० मिनेटसम्म धर्ती कम्पन भएको थियो। यस भूकम्पले समुद्रभित्र पनि हलचल उत्पन्न गर्‍यो र सुनामीको लहरले चिलीलगायत हवाई, जापान, फिलिपिन्स, न्युजिल्यान्ड र अस्ट्ेरलियासम्म ताण्डव मचायो। सबैभन्दा बढी असर चिलीको वाल्डिविया शहरमा भएको थियो।
२. २७ मार्च १९६४, अलास्का, अमेरिका, भूकम्पको तीव्रता: ९.३
अलास्कामा त्यस दिन ४ मिनेट ३८ सेकेन्डसम्म धर्ती हल्लिरहयो। जब जमिन काम्न बन्द भयो, चारैतिर तबाही नै तबाही थियो। यो भूकम्प यति शक्तिशाली थियो कि थुप्रै क्षेत्रको जमिन धसेको थियो। कतैकतै त ३० फुटसम्म माथि उठेको थियो। ९.३ तीव्रता भएको यस भूकम्पले अलास्काको नक्शा नै परिवर्तन गरिदियो ।
३. २६ डिसेम्बर २००४, दक्षिण भारत, भूकम्पको तीव्रता ९.२
यस दिन बिहान समुद्रले भारतको थुप्रै शहरमा मृत्युको ताण्डव गर्‍यो। सुनामी लहरले मृत्युको यस्तो विकट जाल बिछ्यायो जसमा हजारौंं मानिसको जीवन बर्बाद भयो। तमिलनाडुको कुडलुर नागापट्टनम र वेलांगनी पूर्णरूपले नष्ट भयो। यहाँको ६० गाउँको नामोनिशान पनि बाँकी रहेन। कतिजना मरे त्यसको कुनै लेखाजोखा भएन, माछा मार्न गएका मछुआराहरू समुद्रमैं बिलाए। नागापट्टनमको चारैतिर लाशैलाश छरिएको थियो। मृत्युको यस्तो भयानक रूप यसभन्दा पहिले कसैले पनि देखेको थिएन।
४. ११ मार्च २०११, जापान, भूकम्पको तीव्रता ९.०
यस दिन मृत्युले केही मिनेटमैं भयानक ताण्डव मचाएको थियो। प्राय: शान्त बस्ने समुद्र जब अशान्त भयो, चारैतिर तबाही देखिएको थियो। त्यस दिन भूकम्पको कारण धरतीको धुरी पनि कम्पन भएको थियो। त्यसपछि समुद्रबाट १० मिटर अग्लो लहर निस्केर बस्तीभित्र प्रवेश गर्‍यो र सबै कुरा समेटेर लग्यो। भूकम्पपछि सुनामीको लहरले मियागीमा ९ हजार ५ सय १२, इवातेमा ४ हजार ७० र फुकुशीमा १६०५ व्यक्तिको ज्यान लियो।
५. २७ फेबु्रअरी २०१०, बायो–बायो, चिली, भूकम्पको तीव्रता ८.८
यस भूकम्पले चिलीको ८० प्रतिशत जनसङ्ख्यालाई प्रभावित पारेको थियो। भूकम्पको दायरा यति ठूलो थियो कि चिली वरपर रहेको सबै देशमा झट्का महसुस भएको थियो। यस भूकम्पपछि ५३ देशले सुनामी आउने चेतावनी जारी गरेका थिए। त्यसको बावजुद सुनामी लहरको चपेटमा आएर ५२५ जनाले ज्यान गुमाए। भूकम्प आउन थालेपछि धेरैजना गाडी चढेर सुरक्षित स्थानतर्फ भाग्न थाले तर महाविध्वंसले उनीहरूलाई भाग्ने मौका नै दिएन। गाडीमै उनीहरूको चिहान बन्यो।
6. ११ अप्रिल, २०१२, सुमात्रा, इन्डोनेसिया, भूकम्पको तीव्रता: ८.६
यस भूकम्पले इन्डोनेसियालगायत वरपरको देशमा त्रास फैलाएको थियो। किनभने सन् २००४ को सुनामी लहरलाई मान्छेले बिर्सिएका थिएनन्। यस भूकम्पको झट्का मलेसिया, मालद्वीप र भारतमा पनि महसुस गरिएको थियो तर भूकम्पको केन्द्र जमिनभन्दा धेरै तल भएको हुनाले त्यति ठूलो तबाही मच्चिएन।
७. २६ जनवरी २००१, भुज, गुजरात, भूकम्पको तीव्रता: ७.७
२६ जनवरी २००१ का दिन भारतले ५२ औं गणतन्त्र दिवसको उत्सव मनाइरहेको थियो। तब गुजरातको भुजमा तबाहीको खबर फैलिन थाल्यो। ७.७ तीव्रताको भूकम्पले मृत्युको यस्तो खेल रच्यो, पूरै शहर भग्नावशेषमा परिणत भयो। करिब ७ सय किलोमिटर टाढासम्म भूकम्पको झटका महसुस गरिएको थियो। कच्छ र भुजमा ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। डेढ लाखभन्दा बढी घाइते र करिब ४ लाख भवन धराशायी भएका थिए। गाउँ माटोमा मिल्यो भने ऐतिहासिक भवनहरू नष्ट भए।
८. १२ जनवरी २०१०, हाइटी, भूकम्पको तीव्रता ७.०
हाइटीमा आएको यस भूकम्पले सबैभन्दा बढी तबाही राजधानी पोर्ट ओ प्रिन्समा मचाएको थियो। भूकम्पपछि ५२ आफ्टर सक्स महसुस गरिएको थियो। यस भूकम्पले एक लाखभन्दा बढी मान्छेको ज्यान लियो। करिब ३० हजार आलिशान भवन नष्ट भए र अढाई लाख घरबारविहीन भए। सरकारी भवन पनि जोगिएन। यहाँसम्म कि राष्ट्रपति भवन पनि ध्वस्त भयो। बढीजसो व्यक्ति आफ्नै घरमा पुरिए र समयमा उद्दार नहुँदा मृत्युको मुखमा परे। हाइटी सरकारले यस विपत्तिमा केही गर्न सकेन र मृत्युको दर बढ्दै गयो।
९. ८ अक्टुबर २००५, क्वेटा, पाकिस्तान, भूकम्पको तीव्रता: ७.६
यस दिन जमिन हल्लियो र एकै झट्कामा ७५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भयो। करिब ८० हजार व्यक्ति घाइते भए र २ लाख ८० हजार घरबारविहीन भए । संसारले यस्तो तबाही कहिल्यै देखेको थिएन। यस भूकम्पको केन्द्र पाकिस्तानको क्वेटामा थियो तर ७.६ तीव्रताको यस भूकम्पले पाकिस्तानलगायत अफगानिस्तान र भारतमा पनि धेरै तबाही मचायो। भूकम्पको झटका तजाकिस्तान र पश्चिमी चीनसम्म महसुस गरियो।
१०. ३ अगस्त २०१४, चीनको युन्नान प्रान्त, भूकम्पको तीव्रता ६.५
यस भूकम्पको कारण ६१७ व्यक्ति कालको गाल परे। २४ हजारभन्दा बढी घाइते भए। मात्र ६.५ तीव्रताको यो भूकम्पको झटकाले एक पलमैं ठूला–ठूला भवनहरू नष्ट पारिदियो। यस भूकम्पमा ३० हजारभन्दा बढी घरमा क्षति पुगेको थियो। – एजेन्सी

0 comments:

Post a Comment