reader

Loading...

Written By gajjab on Wednesday 6 May 2015 | 02:36

नयाँ दिल्ली, २३ वैशाख । भारतीय सिने जगतका एक चर्चित कलाकार सलमान खानले गराएको भनिएको एक दुर्घटनामा उहाँलाई दोषी ठहर गरिएको छ ।
उहाँलाई बुधबार भारतीय अदालतले पाँच वर्षको जेल सजाय सुनाएको समाचारमा जनाइएको छ । भारतको राजधानी नयाँ दिल्ली, मुम्बइका साथै सबैजसो भारतीय सञ्चारमाध्यमले बुधबार सो समाचार महत्वका साथ प्रकाशन प्रशारण गरेका छन् । 
मुम्बइको एक अदालतले बुधबार उहाँलाई पाँच वर्षको जेल सजाय सुनाएको हो । सो अदालतका न्यायाधीश डि डब्ल्यु देशपाण्डेको इजलासले सो सजाय सुनाउनुभएको हो । 
उहाँले सुनाउनुभएको सजायमा भनिएको छ– सलमान खानले गराएको भनिएको सो दुर्घटना सही ठहर भएको छ र उहाँले कम्तीमा पनि पाँच वर्ष जेल बस्नुपर्ने देखिएको छ । 
उहाँले सन् २००२ मा आफैँले सवारी चलाएका बेला तीनजना व्यक्तिलाई ठक्कर दिएको आरोप लगाइएको थियो । 
उहाँले नै हाँकेको सवारी साधनले मुम्बइको ग्यालेक्सी अपार्टमेन्ट नजिकैको ब्रान्द्रा सडकको किनारमा सुतिरहेका चारजना व्यक्तिलाई ठक्कर दिएको बताइएको थियो । घर नभएका ती व्यक्ति सडक किनारमा सुतिरहेका थिए । 
घाइते भएका ती चार जनामध्ये एकको उपचारका क्रममा पछि निधन भएको थियो । तर सो आरोपको खानले भने खण्डन गर्दै आउनुभएको थियो । उहाँले त्यसदिन आफूले सवारी नै नचलाएको दाबी गर्दै आउनुभएको थियो ।
खानले यसअघि सो दिन आफना सवारी चालकले सवारी चलाएको बताउँदै आउनुभएको थियो । तर उहाँको सो दाबीका विरूद्ध अदालतले फैसला सुनाएको छ । 
बुधबार उहाँलाई सो सजाय सुनाउँदा उहाँ निकै स्तब्ध देखिनुभएको थियो । उहाँमाथिको अदालतको सजाय पढेर सुनाउँदा उहाँ स्तब्ध हुनुभएको समाचार अदालतमा उपस्थित भएका सञ्चारमाध्यमले दिएका छन् ।
उहाँ पनि अदालतमा उपस्थित हुनुहुन्थ्यो र न्यायाधीशले उहाँलाई प्रश्न गर्नुभएको थियो– तपाईं त्यस दिन आफँैले सवारी चलाउनुभएको थियो, त्यस दिन तपार्इंले अत्यधिकमात्रामा मादक पदार्थ सेवन गर्नुभएको थियो । 
सेप्टेम्बर २८ सन् २००२ को रातिको समयमा उहाँले नै हाँकेको सवारीका कारण सो दुर्घटना भएको थियो । त्यसपछि तत्कालै उहाँलाई पक्राउ पनि गरिएको थियो । 
केही समयको अनुसन्धानपछि उहाँलाई धरौटीमा रिहा गरिएको थियो । धरौटीमा रिहा भएपछि पनि जारी रहेको सुनुवाइको क्रम बुधबार सकिएको बताइएको छ । रासस/एएफपी   

0 comments:

Post a Comment